फुटपाथ पसल र ठेला व्यापारमा प्रतिबन्ध लगाउन माग, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले शुक्रबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहललाई ज्ञापनपत्र बुझाएकी हुन्

0
119

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र फुटपाथ पसल तथा ठेला व्यापारमाथि पूर्ण प्रतिबन्ध लगाउन माग गरेको छ ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर शुक्रबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहललाई ज्ञापनपत्र बुझाएकी हुन् । ज्ञापनपत्रमा महानगरपालिकाभित्र फुटपाथ पसल तथा ठेला व्यापारका कारण कोरोना संक्रमण बढ्न सक्ने भन्दै पूर्ण प्रतिबन्ध लगाउन माग ध्यानाकर्षण गराइएको छ ।

उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउने क्रममा प्रशासनले जारी गरेको आदेशमा बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म फुटपाथ पसल तथा ठेला व्यापार सञ्चालन गर्न पाउने उल्लेख छ । ‘फुटपाथ र ठेलागाडा व्यापार’ वाक्यांश हटाएर पुनः आदेश जारी गर्न महानगरले माग गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते जारी गरेको आदेशको, सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसलहरु, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ’ उल्लेख छ । उपमेयर खड्गीले बुझाएको पत्रमा भनिएको छ, ‘‘यस बुँदामा उल्लेख भएका व्यवसायमध्ये फुटपाथ र ठेला व्यापार लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनः आदेश जारी गर्न ध्यानाकर्षण गराइएको छ ।’’

उपमेयर खड्गीले महानगरले वार्षिक नीति र कार्यक्रमबाटै फुटपाथ पसल हटाउने निर्णय गरिसकेकाले अहिलेको आदेश महानगरको नीतिविपरीत रहेका बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here