कोरोनाले मृत्यु हुनेको संख्या ७५ पुग्यो : १६३५३ डिस्चार्ज

0
126

काठमाडौं : नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार आइतबार थप दुई जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या ७५ पुगेको हो।

कास्कीको पोखरा महानगरपालिका–१९ वस्ने ६२ वर्षीया एक पुरुष २४ गते राति साढे ११ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

उनी मधुमेहका रोगी थिए। उनलाई साउन १७ गते कोभिड पुष्टि भएपछि सोही दिन अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। त्यसैगरी पर्सा जिल्ला विरगंज महानगरपालिका- २ बस्ने २० वर्षीया एक महिलाको मिति २०७७ साउन २४ गते बिहानको राति मृत्यु भएको हो।

हाइपो–थाइरोडिजमकी विरामी उनलाई नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुऱ्याइए पछि मृत्यु भएको बताइएको थियो। मृत्यु पश्चात स्वाब लिएर गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको हो। उनमा साउत २५ गते कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३८० जनाको रिपोर्ट पोजिटिभ आएको हो।

कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ। संक्रिय संक्रमितको संख्या भने ६ हजार पाँच सय ४४ छ। पछिल्लो २४ घण्टामा ४० जना डिस्चार्ज भएका छन्। कुल डिस्चार्जको संख्या भने १६ हजार ३५३ पुगेको छ। काठमाडौं उपत्यकामा भने ९२ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ९० जना काठमाडौंका छन् भने दुई जना ललितपुरका छन्। भक्तपुरमा भने पछिल्लो २४ घण्टामा संक्रमण शून्यमा झरेको छ।

पाँच सय बढी संक्रमित रहेका जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन्। त्यसैगरी संक्रमण शून्य भएका जिल्लाको संख्या सात रहेको छ। मन्त्रालयका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा संक्रमण शून्यमा झरेको हो। नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ७५ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here